राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६, पोखरा

राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६, पोखरा

स्थानीय, राष्ट्रिय उत्पादनको बजार पहिचान प्रचार प्रसार एवं औद्योगिक, व्यवसायिक तथा पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण तयार गर्ने उद्धेश्यले पोखरा उद्योग वाणिज्य संघले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ एवं विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरूसँग सहकार्य गरी वर्षेनी विभिन्न मेला एवं प्रदर्शनीहरू आयोजना गर्दै आईरहेको छ ।

यस संघले नेपाल सरकार, नेउवामहासंघ एवं अन्य विभिन्न संघ सस्थाहरूसँगको सहकार्यमा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला २०५९, औद्योगिक व्यापार मेला २०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा २०६२, महिला उद्यामी मेला २०६८, २०७० र २०७२ का साथै बि.सं. २०६३ सालदेखि वार्षिक रूपमा निरन्तर राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्दै आईरहेको छ । यस्ता प्रकारका मेला तथा प्रदर्शनीहरूको सफल आयोजनाले स्वदेशी औद्योगिक व्यवसायिक उत्पादनहरूको प्रचार प्रसार एवं पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुगेको हामीले महसुस गरेका छौं ।


राष्ट्रिय औद्योगिक व्यापार मेलालाई वार्षिक रूपमा आयोजना गर्ने संघको सोच अनुरूप यस वर्ष पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६, पोखरा पुस १८ गतेदेखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार पोखरामा आयोजना गर्ने निर्णय भएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छाैं ।